एमाले अध्यक्ष ओलीद्धारा ‘हामी नेपाली हाम्रो नेपाल’ लोकार्पण
शुक्रबार, मंसिर ३, २०७३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैकुण्ठ महतको राष्ट्रिय गीत ‘हामी नेपाली हाम्रो नेपाल’को आज यहाँ एक समारोहबीच लोकार्पण गरेका छन् ।
करिब १० मिनेट लामो गीतमा रचनाकार महत र पूर्णकला बिसीको स्वर रहेको छ । लोक भाकामा आधारित उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन । रेड एप्पल मिडिया प्रालिले गीतमा नेपालीलाई एकतामा जोड्नेखालका शब्द समावेश गरिएको छ ।

त्यस्तै गीतले स्वाधीन र समतामूलक नेपालको कल्पना समेत गरेको छ । गीतजस्तै म्युजिक भिडियोमा पनि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । हिन्दू, बौद्ध, मुसलमान र क्रिष्चियन सबै धर्मका मानिस यसको दृश्यमा समेटिएका छन् । गायक महत र अभिनेत्री सरिता लामिछानेले मुख्य पात्रका रुपमा अभिनय गरेका छन् ।  महतले यसअघि ‘पानीजहाज’ बोलको गीत बजारमा ल्याएका थिए ।

सो अबसरमा अध्यक्ष ओलीले गीतमा देशभक्ति, अग्रगामी चेतना र सामाजिक विविधता पाएको भन्दै नेतामुखीभन्दा जनपक्षीय गीत निर्माण गर्न कलाकारलाई आग्रह गरे । उनले भने – “कलाकार भनेको भजनमण्डली होइन, मन परेको ठाउँमा हान्नुपर्छ ।”

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिसीले आफूले दुःख गरेर सिर्जना गरेका गीत रोयल्टी नै नदिई जताजतै निःशुल्क प्रयोग गर्ने गरेकाले स्रष्टा मारमा परेको दृष्टान्त दिँदै यसको समाधानका लागि सरकारसँग आग्रह गरे ।
 

900 पटक पढीएको
प्रतिकृया दिनुहोस