तरकारीवाली, मुखर्जी भ्रमण र संविधान संशोधन !
दीपेन्द्र पाण्डे
बिहिबार, कात्तिक २५, २०७३

बोलीचालीमा सार्वभौम भनिने भारतवेष्ठित मुलुक नेपाल आज भारतमय भएको छ । चाहे तरकारी व्यापार गर्ने युवतीको चर्चाको शीर्षक होस कि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा दाहाल सरकारले जनतालाई दिएको सार्वजनिक बिदा नै होस् । नेपालमा भारतीय प्रभावले नछोएको क्षेत्र कुनै छैन भन्ने तितो सत्य संविधानसभाबाट ९० प्रतिशत सभासद्ले जारी गरेको संविधान भारतले स्वागत नगरुन्जेल पूर्ण रुपमा लागु नहुने अवस्था आउनुले प्रमाणित गर्दैछ ।

तरकरी बेच्नेदेखि संविधान संशोधनसम्म प्रभाव पार्ने भारतीय खेलकै एक हिंस्सा मुखर्जीको भ्रमणले दिएको सन्देश नेपाल र नेपालीको लागि कति घातक छ भन्ने कुरा नै लेख लेखिने आधार हो ।

रुपचन्द्र महर्जनको बसिवियालो फोटोग्राफीले कुशुम श्रेष्ठ (१८)को चर्चा सामाजिक सञ्जालको कमजोरी मान्नु हुन्छ कि सवल पक्ष) तपाईंको आफ्नै स्वतन्त्रता हो । सामाजिक सञ्जाललाई योग्यता, क्षमता र चेतनाको आवश्यकता पर्दैन ) सोसल मिडियालाई प्रयोग गर्ने विश्वभरका मानिसको दिनचर्या केवल सतही कुरा मार्फत चर्चित बनाउनु हो त ? जर्मनीका शासक हिटलरका प्रचार संयोजक गोयवल्सले भन्ने गरेको ‘एउटा झुटलाई सय पटक दोर्याउनुस सत्यमा परिणत हुन्छ’ भन्ने भनाइलाई वर्तमानमा सामाजिक सञ्जालले मुलमन्त्रको रुपमा लिएकै हो त ?

माथिका तमाम सवाल यसकारण गर्नु परेको हो कि रुपचन्द्र महर्जनले एक गाउँले किशोरीको फोटो मार्फत प्रतिबिम्बित गर्न खोजेको कुरा फरक थियो । ती किशोरीको फोटो मार्फत उनले यातायातको अभाव भएको ठाउँमा प्लाष्टीकको क्रेट भरी गोलभेडा बोक्नु आफैंमा नयाँ पुस्ताले श्रमलाई सम्मान गर्नुलाई सामाजिक सञ्जाल मार्फत सबै समक्ष पुर्याउनु थियो । हाल सामाजिक सञ्जालमा चर्चित किशोरी कुशुम श्रेष्ठ (१८)को चर्चा उनको इच्छा, चाहना अनुसार भएको कहिकतै हुदै होइन भन्ने कुरा उनको फोटो अरुकै फेसबुकमा पोष्ट हुनुले प्रमाणित गरिसकेकै छ ।

उनी सुन्दर छिन । तरकारी बोक्न र बेच्न आफ्नै बाबुको सहयोगको भूमिकामा छिन् । उनको योगदान यो भन्दा बढि हालको अवस्थामा अरु केही देखिदैन । अब एउटा अहम सवाल सामाजिक सञ्जाललाई गर्नु पर्ने देखिन्छ । के कुशुम श्रेष्ठ (१८) वर्षको बदला ८ वर्षकी मात्र भएको भए उनको फोटो भाइरल बन्थ्यो ? म शतप्रतिशत विश्वस्त छु । बन्दैनथ्यो ।

अब कुरा प्रष्ट छ, पुँजीवादी दुनियाँमा सामाजिक सञ्जालले खोज्ने विभिन्न विषयवस्तु मध्यमा सुन्दरता पनि एक हो । अझ जवान सुन्दरता । झन सुन्दरी नै भए त सुनमा सुगन्ध ।
सामन्तीवादी समाज र सत्ताले भूमि र सुन्दर नारीको उपभोग सित्तैमा गर्दछ भने पुँजीवादी समाज र व्यवस्थाले सुन्दरताको खोजी गर्छ अनेक बहानामा । भलै त्यसलाई सुन्दर नाम नै किन नदिइयोस फोटो पत्रकारिता मार्फत । फोटो पत्रकारिताले समाजको सबै क्षेत्रलाई समेटने भए पनि सबैभन्दा छिटो बिक्ने र सजिलै बिक्ने फेशन र मोडलिङ्गले सुन्दरता र सुन्दरीको खोजी गर्नु धर्म नै हो ।

पुँजीवादले सुन्दरताको उपभोग अनेक ढंगले गर्छ भन्ने एउटा ज्वलन्त प्रमाण हो कुशुम श्रेष्ठ (१८) को चर्चा । अली फरक रुपमा समाजवादी सत्ताले सुन्दरीहरुको बाहिरी रुप र स्वरुपलाई भन्दा ज्ञान र कलालाई मुखरित गराउने हुँदा यो अलिकम चर्चित र अली कम बिकाउ छ । हाम्रो मुलुक सामन्तवादी सत्तालाई बिदा दिँदै पुँजीवादमा भर्खरै पाइला टेक्दै, समाजवाद उन्मुख संविधानको दर्शन मात्र गर्दै गर्दा पुँजीवादको बोलवाला बढ्दै छ भन्ने प्रमाण कुशुम श्रेष्ठको सुन्दरतालाई मार्केटिङ गर्न उनकै घर आँगन पत्रकार पुग्नुले प्रमाणित गरिसकेको छ ।

सुन्दर हुनु कुनै कमजोरी हुँदै होइन । यहाँ त एउटा सामान्य तरकारी बेच्ने युवती कसरी सुन्दरी भइन ? भन्ने चर्चा गरिनुलाई अनौठौं मानिएको मात्र हो । अझ बिडम्बना त यो छ कि तरकारी बेच्ने युवती वा किशोरी नभनेर हिन्दी टाइटल ‘तरकारीवाली’ भन्दै चर्चित बनाइनुलाई हाम्रो सोसल मिडियाले सहर्ष स्वीकार गर्न भारतीय भाषा र भारतको नजानिदो प्रचार र सेवा हो भन्नु पर्ने बाध्यता आइलागेको छ । त्यसैले विश्वभरका सामाजिक सञ्जालकर्तालाई हामीले एउटा सन्देश यसरी दिनु मनाशिव देखिन्छ । ‘‘महत्वपूर्ण हुनु राम्रो हो तर राम्रो हुनु त्यो भन्दा ज्यादा महत्वपूर्ण हो ।’’

मुखर्जी भ्रमणः
१९४७को डिसेम्बर महिनादेखि नेपालमा घोषित रुपले खोलिएको भारतीय दुतावासले भारतीय सरकारको विभिन्न हाइलेवल व्यक्तिलाई नेपाल भ्रमणको चाँजोपाँजो मिलाउँदै आएको हो । १६ बुँदे मार्फत भारतलाई अटेरी गर्दै जारी गरिएको नेपाली संविधानलाई विमति राख्दै अघोषित नाकाबन्दी नामको अस्त्र प्रयोग गर्दा भएको नेपाल भारत सम्बन्धको क्षतिलाई न्यूनीकरण गर्न तय गरिएको भ्रमण हो, मुखर्जी आगमन ।

अघोषित नाकाबन्दीले धमिलीएको नेपाली जनताको मनलाई क्षणिक भए पनि मन माझ्ने र चिसिएको सम्बन्धलाई सरकारीस्तरमा न्यानोपन दिने लालसामा उनीहरुद्वारा नै निर्मित दाहाल सरकार र भारतीय दूताबासको सक्रियतामा गराइएको मुखर्जी भ्रमणको असली मकसद नेपालमा चिनियाँ प्रभाव कम गर्न र संविधान जारी गर्दा छुटेका आफ्ना स्वार्थलाई सुविचारित ढंगबाट संविधान संशोधन मार्फत पुनः स्थापित गर्नु हो भन्ने नबुझ्ने नेपाली को होलान र ?

भारतीयहरुको नेपाल नीति नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग गर्ने, उनीहरुको चाहनामा तल माथि पर्ने घटना घट्ने वित्तिकै नेपाली राजनीतिलाई अस्थीर बनाउने र त्यही अस्थीरताको आडमा आफ्नो स्वार्थ पूर्ति गर्ने हो भन्ने विश्लेषकहरुको ठम्याइ पटक पटक पुष्टि भएको कुरा यस पटक पनि मुखर्जी मार्फत चुहिसकेको छ । भारतीय सरकारको इच्छा, चाहना र स्वार्थलाई नबोलिकनै हाम्रा नेताहरुलाई जानकारी गराउँदै भारत फर्केका राष्ट्रपति मुखर्जी भारतका निम्ती सफल भ्रमणकर्ता भएका छन् ।

भारतीय सरकार र नेपाली सरकार दुवैतिरबाट दुःख मात्र पाउने नेपाली जनताको कर्मलाई यो भ्रमणले पनि निरन्तरता दिनु हाम्रो नेपाली जनताको उपलब्धी हो भन्नु वान्छनीय देखिन्छ । नेपाली सरकारको गुलामीको पराकाष्टा हेर्दा भारतीय राष्ट्रपतिले दिएको धर्मको नाममा पशुपतिनाथ र जनकपुरको पुजा मार्फत हाम्रा प्रधानमन्त्रीदेखि जनतासम्म हिन्दुत्वको चर्चा संविधानतिर लक्षित थियो भन्ने कसले बुझ्दैन र ? अझ पोखरा पुग्दै भूतपूर्व सैनिकलाई सम्बोधन गर्ने भारतीय कुटनीति भित्र लुकेको असली मकसद नेपालीहरुको कर्म भारतीयको सेवा गर्नु हो र रहिरहने छ भन्ने नै हो ।

संविधान संशोधनः
नेपालका सबैजसो दलहरुमा भारतीय राजनीतिको गहिरो र दह्रो प्रभाव छ भन्ने कुरा नमान्ने मानिस सायदै होलान । नेपालको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पटक–पटक भन्ने गरेको सफेद झुट यो छ कि माओवादीलाई शान्ती प्रक्रियामा ल्याएको हामीले हो । संविधान जारी गरेको पनि हामीले नै हो । वास्तविक र खुल्ला सत्य यो हो कि काँग्रेस, एमाले र तात्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको भारतले हो । संविधान जारी गराएको पनि भारतकै एक पक्ष, युरोपियन र अमेरिकन लविष्टहरुले गर्दा हो भन्ने कुराको प्रभाव आजसम्म पनि भारत सरकारले संविधानको स्वागत नगर्नुले प्रष्ट भइसकेको छ ।

लोकतन्त्रको बहानामा नेपालमा पटक–पटक गरिएको भारतीय लगानीको प्रतिफल उनीहरुको चाहना अनुसार नेपाली संविधानमा उल्लेख नहुनुले हाम्रो राजनीति पीडित छ भन्ने कुरा नबुझ्ने नेपालीको छ र ? संविधान जारी गर्न सफल भएका दलहरु संविधानमै राजनैतिक खड्को माघ ७ लाई राख्दै चिप्लनुको अर्ध भारतीय चाहनाको सम्बोधन गराउने योजना जन्मदै तय थियो भन्ने कुरा विस्तारै खुल्दैछ ।

म कुटे जस्तो गर्छु तँ रोय जस्तो गर भन्दै नेपाली जनतालाई अनिश्चयको डर देखाउँदै भारतीय स्वार्थको सम्बोधन गर्न र गराउन फेरि एक पटक हाउगुजी खडा गरिदैछ । देउवालाई भारत बोलाउँदै थर्काउने, दाहाललाई मुखर्जी मार्फत सन्देश पठाउने र मधेशी मोर्चालाई छठपछिको अल्टीमेटमको वर्षा गराउने कुटिल खेल भारतीय शकुनीको पासा जस्तै हो भन्ने कुरा कस्ले बुझेको छैन र ?

संविधानको कार्यान्वयनको नाममा भारतीय स्वार्थलाई संम्बोधन गर्ने अर्को खेलले पुष्पकमलको प्रधानमन्त्री पद नै खाइदिने सम्भावना बढ्दै जानुले सहमतिको नाममा अन्तत नेपाल र नेपालीले गुमाउने भनेको सार्वभौम अधिकार नै हो भन्ने झन–झन पुष्टि हुँदैछ । भारत सरकार र मधेशी मोर्चाको घुर्की हेर्दा पुष्पकमलको ओलीसँगको एक घण्टा वार्ता अनी आफ्नै मन्त्रीलाई हप्काउँदै कार्य सम्पादन र कार्य कुशलताको विवरण माग्दै गर्दा पुष्पकमलको हतास मनस्थितिलाई जनताहरु यसरी लिदैछन् ।

‘मुखर्जी आए कराय, पुष्पकमल डराय,
संविधान चलाउँदा देशै हराय’

नेपाली जनताको मनमा उब्जेको अर्को शंका हिजोसम्म संविधान संशोधनको औचित्य खोज्ने एमाले आज केही लचक हुँदै आवश्यक परे संविधान संशोधन गर्न सकिन्छ भन्ने भाषा बोल्न बाध्य हुनुले मुखर्जी सन्देश पुष्पकमल मार्फत ओलीसम्म पुगेको संकेत देखिन्छ । आम जनतालाई दह्रो आश्वासन मार्फत देश बचाउने र जोगाउने जिम्मा लिएको एमाले पनि लचकताको बहानामा कतै चिप्लिने त हैन ? भन्ने जमात विस्तारै बढ्दैछ ।

केवल लोकमानलाई बिदा दिन, भारतसँग बिग्रिएको ओली सम्बन्ध सुधार्न र सहमतिको नाममा सत्ता यात्राको आधार बनाउने खेलमा संविधान संशोधनको निम्ती एमाले तयार हुनु भनेको उही दिवगत गणेशमानले विपीको मेलमिलाप नीति अनुसार भारतबाट नेपाल आउँदै गर्दा भनेको भनाइ ‘नेपाल जानु सुसाइड गर्नु हो, भारतमै बस्नु पोइजन खानु हो’ भने जस्तै हैन र ?

2527 पटक पढीएको
प्रतिकृया दिनुहोस