दिल्लीको झेल्लीमा नेपालीलाई शास्ती
ज्ञानबहादुर क्षेत्री
आइतबार, कात्तिक २८, २०७३

भनिन्छ गरिवी अपराध बिनाको सजाय हो । जीवन धान्न आवश्यक धन सम्पत्ति नहुनु नै पनि धेरै मानिसका लागि सजाय भैरहेको वर्तमान समाजमा भारतीय सरकारको एक अप्रत्याशित निर्णयले चाँहि यो भनाईलाई खण्डन गरेको छ । र यतिबेला भारतीयहरु सरकारका कारण धनसम्पत्ति भएर दुःखी भैरहेका छन । पैसा भएर पनि घण्टौं लाईनमा लागेर आफ्नै कमाईको धन पनि आफ्नो मर्जीमा खर्च गर्न वा गुजारा चलाउन मुश्किल महसुस गरिरहेका छन् । भारतीय सरकारले जसै भारु १ हजार र ५ सयका नोटमा नोभेम्वर ९ का दिन अप्रत्याशित प्रतिवन्ध लगायो, तब सिंगो भारतका जनता नोटको समस्याले एकै झट्कामा थला परेका छन ।

उनीहरुलाई पैसो हुनुको दुःखले सताईरहेको छ यतिबेला । र, तीनतिरको ठूलो छिमेकी भारतसंग लामो संवन्ध भएको हिमालयको देश नेपालमा पनि अप्रत्याशित भारतीय नोट प्रतिवन्धको झट्काले सीमा क्षेत्रका स्थानीय तथा व्यापारिक र व्यवसायिक तप्का एकैपट्क मर्कामा परेका छन । खासगरी सीमा क्षेत्रका जनता यसबाट दैनिकी नै संकटमा पर्नेगरी प्रभावित भएका छन । खाएको विष मात्रै लाग्नुपर्नेमा नेपालीका लागि यो प्रकरणमा नखाएको विष लागेको असामान्य परिस्थिति उत्पन्न भएको छ ।

सीमा क्षेत्रमा महंगीको मारः
भारतीय ठुला नोटमा प्रतिबन्ध लगाइएपछि नेपालको सीमा क्षेत्रका स्थानीय बढी मारमा परेका छन । भारतीय नोट साट्न सास्ती खेपीरहेका स्थानीयले अन्य नोट पनि पाउन छाडेका छन । ठुला नोटमा प्रतिबन्ध लगाइएलगत्तै व्यापारी, दलाल र भारतीय नोटका कारोबारीले भारतीय रुपैयाँ लुकाएर अतिनै महँगो दरमा बिक्री गर्न थालेका छन् । एकातिर नेपालीहरुसँग रहेका ५ सय र १ हजारका पुराना नोट साट्न नपाउने अवस्था छ भने अर्कोतिर उपचार र अन्य कामले भारत जाने नेपालीले भारु नपाएर छट्पटिने अवस्था व्याप्त छ । अहिले भारत जाने नेपालीहरूलाई ५ हजार भारु लिँदा त्यसको दोब्बर १० हजार नेपालीसम्म तिर्नुपरेको छ । त्यसो गर्दा पनि भारु सहज रूपमा उपलव्ध नहुनुले सीमा क्षेत्रका जनता आक्रान्त छन ।

दैनिक व्यापारिक कारोबार, रोजगारी र उपचारका लागि भारत जानेहरुले ठुला नोटमा प्रतिबन्ध लाग्नु अघिसम्म सयकडाको १२ रुपैयाँसम्म तिरेर सहजै रूपमा भारु पाउने गरेकोमा प्रतिबन्ध लागेपछि अहिले दोब्बर रकम दिएर पनि मुस्किलले भारु पाइने गरेको सीमा क्षेत्रका जनको दुखेसो छ । सीमा क्षेत्रका मुख्य चोकमा महँगो दरमा भारु पैसा साट्न हुलहुलका मानिसहरू हातमा पैसा लिएर बस्नु परेको र दोब्बर वा त्यो भन्दा पनि बढी रकम लिएर मात्र भारु दिने दलालहरुको विगविगिले गरिखाने वर्गका मानिस महंगीको मारमा परेका परेका छन ।

कतिपय सीमावर्ती भारतीय बजारमा भारतीय नोटको मनपरी मोल लगाएर सयौँ नेपालीलाई ठग्न क्रम पनि सरकारी निकायले रोक्न सकेको छैन । ठुला नोटमा प्रतिबन्ध लगाएपछि त्यस्ता भारतीय नोट राखेका सयौँ नेपालीहरू आत्तिएर सटहीका लागि सीमावर्ती क्षेत्रमा झुम्मिएको कारण मौकामा चौका हानेर नेपालीलाई ठग्नेहरुका लागि यो भारतीय प्रतिवन्धको निर्णय कमाईखाने उन्नत मौका बनेको छ । सीमापारी पुगेका नेपालीहरुसंग त्यहाँका नोट दलालहरुले ५ सय भारुको ५ सय नेपाली तथा हजार भारुको हजार नेपाली दिएर बराबरमा साटासाट गरिरहेको नेपालीहरूको दुखेसो छ । भारतीय सरकारको निर्णय अनुसार ५० दिनभित्र भारतीय बैङ्कको खातामा त्यस्ता नोट जम्मा गर्नु पर्ने भएकाले सो समय अवधिपछि ती नोट रद्दी कागज बन्ने भय र त्रासले सीमा क्षेत्रका जनता सस्तैमा दलालकै चंगुलमा परेर पनि सटही सुविधाका लागि झुत्तिन विवश भएका छन ।

भारतमै बस्ने नेपालीको पीडाः
रोजगारी तथा कमाउने नजिकको मुग्लानका रुपमा भारत जाने वा त्यहाँ रहेका लाखौंको संख्याका नेपालीका लागि यो समस्या झन पीडादायी छ । भारतमा रहेका नेपालीहरूका बैङ्क खाता नभएको र नेपाल राष्ट बैङ्कले निर्णय गर्न ढिलाइ गरेका कारण नेपालीहरू सस्तोमा सटही गर्न बाध्य भैरहेका छन । यसमा भारतस्थित नेपाली दूतावासले समेत त्यस्ता नेपालीका लागि कुनै सहजता दिलाउन सकेको छैन । नेपालीलाई परेको संकटको फाईदा उठाउदै भारतीयहरुले लाख लाखसम्मको भारुको सोही बमोजिमको नेपाली मुद्रा दिएर फर्काउनेसम्म गरिएको सम्वद्ध पीडितको दावी छ ।

सरसामान खरिद गर्न पुग्नेहरुसंग पनि बराबरमा सटही गरे सामान दिन थालिएको छ । नेपाली उपभोक्ताको भरमा दैनिक ५ करोडसम्मको व्यापार हुने रुपैडिया बजार नोटमा प्रतिबन्ध लगाइएकै कारण गत केही दिनदेखि सुनसान छ । ठूला नोटमा प्रतिबन्ध लगाइएपछि रुपैडियामा अहिले दैनिक १० लाखको पनि कारोबार हुन नसकेको बताईन्छ ।

नेपाल फर्कनेदेखि बिरामीसम्म मर्कामाः
ठूला नोटमाथिको भारतीय प्रतिवन्धले भारतबाट नेपाल फर्कनेको हालत पनि बिग्रदो छ । भारतबाट काम गरेर नेपाल फर्किएका सयौं नेपालीले प्रतिबन्धित नोट लिएर नेपाल छिर्नु परेपछि उनीहरू सीमावारि र पारि दुवैतर्फ अलपत्र पर्न थालेका छन । तीमध्ये कतिपयसँग अन्य नोट नभएकाले घरसम्म जाने भाडासमेत नहुने गरको समस्या पनि सीमाक्षेत्रमा बढेको छ । सीमा क्षेत्रका अस्पतालबाट रिफर भएर उपचारका लागि भारतीय शहर पठाईने बिरामी पनि ठूला भारतीय नोट प्रतिबन्द भएका कारण अलमल र संकटमा पर्न थालेका छन । उनीहरूलाई साना नोटको व्यवस्था मिलाउन राष्ट्र बैंकले गरेको सुस्त प्रयास थप पीडा हुने गरेको छ ।

सीमावर्ती भारतीय बजारहरुमा भारतीय रुपैयाँ साट्न थालिएसंगै नेपालीको भीड बढेको मौका भारतीय दलालका लागि कमाउने मौका बनिरहेको छ । नेपालका सीमा जोडिएका क्षेत्रमा भारुमै पनि कारोबार हुने गरेका कारण पनि समस्या स्थानीयका लागि झन कठिन भएको छ । सीमा क्षेत्रबाट दैनिक सयौँ सर्वसाधारण भारतमा उपचार गर्न र धार्मिक प्रयोजनका लागि जानेहरुको पनि पीडा उस्तै छ । सीमा क्षेत्रका हजारौं सर्वसाधारण दसैंतिहार र छठ जस्ता ठूला चाड मनाउन भारतबाट नेपाल फर्कने क्रममा भित्रिएको करोडौं रुपैयाँ जो, सरकारी रर्कडमा छैन तर जनतालाई भने सटहीमा समस्या परेको छ । गाउँगाउँ र बस्ती बस्तीमा पुगेका ती नोट एकाएक नचल्ने भएपछि सबै रनभुल्लमा परेका छन् ।

नेपालमा भारु प्रतिवन्धको असरः
नेपाल विश्वको उदीयमान शक्ति राष्ट्र भारतको त्यस्तो छिमेक हो, जसका हरेक निर्णयले नेपाललाई प्रत्यक्ष प्रभाव पार्छ । पुरातन कालदेखि खुल्ला भूगोल, जनजीवन, धर्म संस्कृति  र रोटीबेटीको संवन्ध रहेको भारतको यो आकस्मिक निर्णयले नेपालमा परेका असर बहुआयामिक छन । नेपाल राष्ट्र ब्यांकका अनुसार राष्ट्र ब्यांक र अनुमतिप्राप्त वित्तीय संस्थासंग झण्डै साढे तीन करोड रुपैयाँ बराबरको पाँच सय र एक हजार दरका भारतीय नोट रहेका छन । सरकारी रेकर्ड अनुसारका ती सबै नोटको सटहीका लागि सहयोग गर्न भारतीय रिजर्भ ब्यांकलाई नेपालले औपचारिक अनुरोध गरेको छ, तर सरकारी आग्रह अनुसार नेपालमा भारुको कारोवार गर्नेहरुले सहज रुपमा भारु सटहीको सुविधा पाईरहेका छैन्न ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि काठमाण्डूस्थित भारतीय दूतावासमार्फत सोही आशयको औपचारिक पत्र पठाएर आफ्ना जनतालाई नोट सटहीको व्यवस्थामा सहजताका लागि अनुरोध गरयो । तर कार्यान्वयनको स्थिति शून्यप्रायः छ । पाँच सय र एक हजार दरका नोटमाथि बन्देज लगाउने आकस्मिक भारतीय निर्णयपछि नेपालमा रहेको त्यस्ता रकमको सटही सम्वन्धी जनजनले सरल सुविधा पाउने बाटो र बिधि पस्कन नसकेर सरकारले जनताको समस्यामा सरकार सारथी छ भन्ने अनुभुति दिलाउन सकेन  । सरकारी निर्णयहरु लामो समयसम्म कागजमा सीमित हुने र कार्यान्वयनको चाजोपाजो सिघ्र नमिलाईने रोगको शिकार भारु कारोवार गर्ने जन भैरहेका छन ।

अहिलेसम्म नेपाल राष्ट्र ब्यांकले सटहीका लागि अनुरोध गरेपछि भारतको केन्द्रिय ब्यांकले नेपालमा रहेको भारतीय नोटको परिमाणबारे सोधपुछ गरेको र नेपालले त्यसको विवरण पठाएको बाहेक जनसाधारणका समस्या समाधानमा ठोस सरकारी सहायता र जानकारी सरकारबाट मिलेको छैन । राष्ट्र ब्यांकका अनुसार राष्ट्र ब्यांक र अन्य ब्यांक, वित्तीय संस्थासंग अढाई करोड लाख बराबरको भारु छ भने होटल, ट्राभल, ट्रेकिंग व्यवसायसंग ८० लाखभन्दा बढी छ । तर मुद्रा सटही गर्ने कतिपय मनी एक्सचेञ्ज कम्पनीहरुले विवरण दिइनसकेको र सर्वसाधारणसंग रहेको रकमबारे पनि यकीन तथ्याँक नभएकाले करिब चार करोड बराबरको पाँच सय र एक हजार दरका भारतीय नोट रहेको सरकारी अनुमान छ ।

यहाँ सरकारी रेकर्डमा रहेको भारु भन्दा सर्वसाधारणसंग रहेको भारतीय नोट सटहीबारेको सरकारी अन्यौलताले गरीखाने वर्गका जनलाई बढी मर्का परिरहेको छ, जसबारे न त सरकारको भर छ, न त सर्वसाधारणले यो समस्या समाधानको उपाय नै भेट्टाएका छन । राष्ट्र ब्यांक र अन्य ब्यांक, वित्तीय संस्थासंग अढाई करोड लाख बराबरको भारु देखिन्छ भने होटल, ट्राभल, ट्रेकिंग व्यवसायसंग ८० लाखभन्दा बढी रहेको विवरण छ । तर सीमा क्षेत्रका सर्वसाधारणसंग भएको रकमको कुनै हिसाब नै देखिदैन ।

नेपालमा सर्वसाधारणले २५ हजारसम्म भारु राख्न पाउने व्यवस्था छ । तर भारतीय रकम मार्फत व्यापार व्यवसाय गर्नेहरुसंग त्यो भन्दा बढी रकम भएको अनुमान छ । सरकारले २५ हजार सम्मको भारु राख्न पाउने कानुनी सुविधाको आधारमा त्यही अनुसारको परिमाण साट्न पाउनुपर्छ भन्ने अनुरोध पनि भारतीय पक्षलाई गरे पनि प्रभावित जनता लाभान्वित हुन सकिरकेका छैन्न । भारतीय रिजर्भ ब्यांक र भारत सरकारको संयुक्त पहलले मात्रै नेपालीमा भारु चलाउनेहरुको समस्या समाधान हुने हुदा सरकार समस्यामा परेका जनताको छिटो सारथी बन्न सकेन ।

राष्ट्र ब्यांक र अर्थ मन्त्रालयबाट मौज्दात रहेको पाँच सय र एक हजारको भारतीय नोट कहां, कसरी जम्मा गर्ने भन्नेबारे भारतको आधिकारिक धारणासहित घरेलु प्रवन्ध मिलाउन नेपालले गरेको ढिलाई सर्वसाधारणका लागि थप समस्या भएको छ । भारतभित्र डिसेम्बरको अन्त्यसम्म सटही गरिसक्न भनिएकोले सोही अवधिभित्र नेपालमा रहेको भारतीय नोट पनि साट्न सकिने गरी भारतले छिटो व्यवस्था नगरिदिदासम्म भारु प्रयोग गर्ने नेपालीहरुको समस्या समाधान हुन सक्ने देखिदैन ।

नेपाल सम्बन्धमा सकारात्मक प्रभावः
कालो धनमाथिको भारतीय आकस्मिक धावा र झेल्ली कालोधनमाथिको हैन,भारतीय जनतामाथिको धावा भनेर दिल्ली सरकारका प्रमुख अरविन्द केजरीवालले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको नयाँ नोट नीतिको विरोध गरिसकेका छन । जनतालाई नोट सटहीको सहज वैकल्पिक व्यवस्थाको ग्यारेन्टीबिनै सरकारले लिएको नयाँ नीतिले प्रताडित आम भारतीय जनसाधारणलाई खासगरी नगदमा कारोवार गर्ने शहरीयालाई जसरी सताईरहेको छ, त्यसैको छायाँ नेपालस्थित सीमा क्षेत्रका र भारतीय नोट कारोवारीलाई परेको बेला सरकार मुकदर्शक मात्रै बनिरहेको वर्तमान नै हाम्रो सरकारको व्यवस्थापकिय कमजोरीको आलोच्य पक्ष हो ।

घोषित रुपमै नेपाल भारत संवन्धमा गंभिर असर पार्ने गरेको र सधै नै भारतीय चिन्ता र चासो हुने गरेको नेपालबाट नक्कली भारुको अवैध कारोवार हुने घटनाको जरो काट्न भने यो भारतीय नयाँ नोट नीति सकारात्मक देखिएको छ । नेपाललाई टान्जिट प्वाईन्ट बनाएर भारतमा हुने भारु तस्करीको क्रममा एक्कासी व्रेक लगाउन यो निर्णय सफल भएको छ ।

पछिल्ला दिनमा उसै पनि भारुको तस्करीमा मन्दी त आएकै थियो, तैपनि भारतले नेपालमाथि नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाएर नक्कली भारु तस्करी गर्ने गिरोहमाथि कडा निगरानी नगरिदिएको भन्ने भारतीय खुल्लमखुल्ला आरोपको समूल अन्त्यका लागि पछिल्लो भारतीय नोट नीति कोसेढुंगा सावित भएको छ । यसले नेपालबाट भारुको अवैध कारोवार, हुण्डी र तस्करी गर्नेहरु एकै झट्कामा शिथिल भएका छन । नेपालले असल दक्षिणी छिमेक संवन्धका लागि भारतीय नयाँ नोट नीतिबाट प्रत्यक्ष वा परोक्ष र दीर्घकालिन रुपमा पाएको सकारात्मक परिणाम यही नै हो ।

सामान्यतः नेपालका लागि भारतीय नीतिले अरु दीर्घकालिन नकारात्मक असरहरु पनि  खासै पार्ने छैन । किन की हालको अस्थायी भारु सटही समस्या सुल्झाउने हो भने अवैध मुद्रा कारोवारको स्थिति अन्त्यका लागि छिमकीले लिएका नीतिले नेपाल आत्तिनु वा तर्सिनु पर्ने अन्य कारण छैन्न ।

तर नेपालमा बसेर भारतीय मुद्राको अवैध कारोवार गर्नेहरुका लागि भने यो नीति दशा नै बनेको छ, जो सिंगो देशको लागि र दुईदेशीय असल संवन्धका लागि सकारात्मक कुरा हो । धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै भैरहेको समस्या हो नेपालका लागि अवैध भारुको कारोवार । अब त्यो अन्त्यका लागि बलियो गेट बनेको छ नयां भारतीय नीति जसको लाभ भारतले प्रत्यक्ष र नेपालले परोक्ष रुपमा पाउने छ ।

853 पटक पढीएको
प्रतिकृया दिनुहोस