गोर्भाचोभको नेपाली अवतार पुष्पकमल दाहाल !
दीपेन्द्र पाण्डे
सोमबार, कात्तिक २९, २०७३

भनिन्छ इतिहास दोहरिन्छ । विषय, पात्र र स्थान मात्र बदलिन्छ । सोही भनाईलाई पुनः एकपटक सम्झने मौका मिल्यो, २०७३ कात्तिक २३ गते विहान । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा केही मानिसहरु यसरी आक्रोशित हुँदै थिए । गणतन्त्र ल्याउन हामी योग्य हुने, पुष्पकमललाई दुई पटक प्रधानमन्त्री बनाउन योग्य हुने, उनीहरुलाई दरबारमा बसाउन योग्य हुने अनी हामी चैं गणतन्त्र नेपालको सेनामा अयोग्य हुने ? यो कस्तो न्याय हो ? सुन्दा कर्णप्रिय लाग्ने कुराको वास्तविकता बुझ्दै जाँदा उनीहरुको माग नाजायज भन्ने कुनै आधार फेला परेन ।

तात्कालिन अवस्थामा ध्वंश मच्चाउन खडा गरेको माओवादी जनसेनाको व्यवस्थापनमा भएको त्रुटीले सिर्जना गरेको समस्याले खडा गरेको सवाल हुन माथिको घटना । हाम्रो योगदान सबै स्वीकार्य हुने हामी चाँही गणतन्त्र नेपालमा कसरी अस्वीकार्य हुने ? भन्ने सवाल तीनै पूर्व जनसेनाका पूर्व लडाकुहरुका थिए । करिब एक हजारको संख्यामा रहेका माओवादी पूर्व लडाकुहरुले २०७३ साल कात्तिक २२ गते पेरिसडाँडामा रहेको माओवादी केन्द्रको हेडक्वाटरमा सामुहिक रुपमा प्रवेश गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग राज्यले पछिल्लो समय गरेका बाचाको स्मरण गराउने तरिका थियो, पेरिसडाँडा कब्जा ।

बर्हिगमीत अयोग्य पूर्व माओवादी लडाकु दस्ताका नेता लेनिन विष्टको भनाइलाई आधार मान्ने हो भने करिब करिब कात्तिक २२ गते राती नै सहमतितिर पुगेको घटना अचानक कात्तिक २३ गते विहान पुलिस हस्तक्षेप हुने अवस्थामा पुग्नलाई पुष्पकमलको गोर्भाचोभ अवतार खुलेको मान्नु पर्ने हुन्छ । हालको लागि ठूलो कसरतका साथ गुपचुप राख्न खोजिएको यो घटनाको मुल जरोमा पुग्न र माओवादी आन्दोलनको प्रमुख लक्ष्य के थियो भन्ने कुराको सहि जवाफ प्राप्त गर्न एक पटक पूर्व सोभियत संघको राजनीतितिर फर्कन मनासिव देखिन्छ ।

आर्मेनिया, अजरबैजान, बेलारुस, इष्टोनिया, जर्जीया, कृजिकस्तान, कजाकिस्तान, लाटभीया, लीथवानीया, मोल्दोभा, रसिया, तजाकस्तान, तुर्कमिनेस्तान, किर्जिकस्तान, युक्रेन र उज्वेकस्तानलाई मिलाउँदै लेनिनद्वारा निमार्ण गरेको सोभियत युनियनको पतन नाटकिय ढंगले कसरी गरियो ? सामान्य जानकारी आवश्यक छ । पुष्पकमल नामको नेपाली गोर्भाचोभको असली रुप बुझ्नलाई । पेरेसत्रोइका र गलासनोस्त (खुलापन र पुनर्निर्माण) को नारा दिँदै सोभियत कम्युनिस्ट पार्टीको महासचिव बन्न सफल मिखाइल गोर्भाचोभले कसरी सोभियत युनियनको विघटन गर्ने आधार निर्माण गरे ?

घटना रोचक र फिल्मी कथा भन्दा फरक छैन । शीतयुद्ध चर्कदै जाँदा अमेरिकीहरुको फेरिएको रणनीति अनुसार सोभियत जनताद्वारा कम्युनिस्ट सत्ता पल्टाउन असफल हुन्छ भन्ने निचोडपछि कम्युनिस्ट पार्टीको उपल्लो निकायलाई नै प्रयोग गर्नुपर्छ भन्ने सिआईएको एक सुत्रिय एजेण्डा मार्फत सोभियत युनियनको कम्युनिस्ट पार्टीमा बोरिस यल्तसीन र मिखाइल गोर्भाचोभको जन्म गराउने सिआइए कला अद्भूत नै मान्नुपर्छ । पुरै पूर्वी युरोपलाई पाल्नु पर्ने सोभियत सत्तामा अल्छी, भ्रष्टाचारी र अमेरिकी एजेण्टहरुको आन्तरिक रस्साकस्सीले कम्युनिस्ट पार्टी जनताबाट टाढिदै थियो ।

अनावश्यक हतियारको होडबाजी र अफगान सत्ता आफ्नो पकडमा राख्न गरिएको खर्चले भित्र भित्रै खोक्रो भैइसकेको सोभियत अर्थतन्त्रलाई नवजीवन दिने गोर्भाचोभको उद्घोषलाई यल्तसीन र सिआइएको मिली भगतमा असफल बनाउँदै अल्छी जमातका टवाँटे नेता गेन्नाडी एनाएभलाई उक्साउँदै १९ अगष्ट १९९१ मा गोर्भाचोभलाई सैनिक ‘कु’ गराइयो । क्रिमियामा बिदा मनाइ रहेका गोर्भाचोभले तत्कालै आफ्ना अंगरक्षकको सञ्चार सेटलाई प्रयोग गर्दै अमेरिकी राष्ट्रपति जर्ज एच डब्लु बुससँग सम्पर्क गरि सहयोग माग्नुले गोर्भाचोभ कुन रुपमा अमेरिकी भक्त भैसकेका थिए भन्ने जानकारी मिल्दछ ।

सिआइएको योजना अनुसार कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्यबाट राजिनामा गराउँदै रुसी जनतामा लोकप्रिय बनाइएका बोरिस यल्तसीन मार्फत रुसी जनता सडकमा उतारियो । सोभियत सत्ताका सबै जनरलहरुलाई शान्त रहन आदेश दिइयो । अन्ततः बहत्तर घण्टाको नाटकपछि २१ अगष्ट १९९१ म सोभियत सत्ताको औपचारिक बिदाइ गरियो । गोर्भाचोभ, यल्तसीन र बुसको मिलीमगतमा ७३ वर्ष शासन गरेको कम्युनिस्ट पार्टीलाई २५ डिसेम्बर १९९१ मा सारा सम्पत्ति राष्ट्रियकरण गर्दै विघटन गरियो । लेनिनको विरासत कम्युनिस्ट सत्ता र पार्टीको औपचारिक विघटन गरे वापत अमेरिकी राष्ट्रपति बुसको धन्यवाद थाप्दै २६ डिसेम्बर १९९१ मा सोभित युनियनको अस्तीत्व समाप्त पार्दै मिखाइल गोर्भाचोभले विदा लिए ।

सोभियत युनियनको विघटनपछि विश्वभरका पुँजीवादी सत्ता र सञ्चारले एकोहोरो फिजाइएको हल्लाले थुप्रै देशका कम्युनिस्ट आन्दोलन धरासायी भए । पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरु सामाजिक प्रजातन्त्रवादीमा रुपान्तरित भए । त्यसैको प्रभावले नेपालमा पनि सामान्य असर स्वरुप तात्कालिन नेकपा माले र नेकपा माक्र्सवादीको मिलन हुन गइ एमाले निर्माण हुन पुग्यो । एकीकृत माले पार्टीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै अगाडि बढ्ने कार्यक्रमको नाम जनताको बहुदलिय जनवाद मदन भण्डारीको नेतृत्वमा अंगिकार गर्न पुग्यो ।

२०४६को परिवर्तनपछि भएको निर्वाचनमा जनताले एमाले पार्टीलाई नेपालको वामपन्थी आन्दोलनको जिम्मेदारी मतपत्र मार्फत सुम्पीएको सत्यलाई स्वीकार नगर्ने गिरिजा प्रवृतिले कर्मचारी आन्दोलनमा चरम यातना र दमनको सहारा मार्फत वामपन्थी आन्दोलन समाप्त गर्ने सपना देख्यो । अन्ततः गिरिजालाई प्रयोग गर्दै समाप्त पार्न कोसिश गरिएको तमाम हर्कत नेपाली जनताको न्यानो मायाले असफल पारिदियो । सबैलाई पेलेरै ठेगान लाउँछु भन्ने दुर्योधन शैलीको गिरिजा शासनको सजाय मध्यावधी चुनाव मार्फत गिरिजाले पाए । जसको प्रतिफल एमाले पार्टीले नौ महिने लोकप्रिय सरकार हाँक्न पायो । भारत र सिआईएको मिलीभगतमा अदालत, काँग्रेस र दरबारलाई प्रयोग गर्दै एमालेलाई सडकमा पुर्याइयो ।

सिआइए र भारतीय र इसाइहरुको लक्ष्य २०४६ को परिवर्तनलाई संस्थागत हुन नदिने खेलको पहिलो चाल गिरिजाद्वारा मध्यावधी चुनाव घोषणा गरिनु थियो । पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई प्रयोग गर्दै संयुक्त जनमोर्चा नेपाललाई चुनावमा भाग लिन नदिने योजना दोस्रो चाल थियो । मध्यावधी चुनावको नतिजापछि एमालेलाई सरकार सञ्चालन गर्न दिने र पतन गराउने रणनीति फेल खानुनै बाबुराम नामको नेपाली यल्तसीन र पुष्पकमल नामको गोर्भाचोभ मार्फत माओवादी ध्वंशको जन्म गराउने कारण थियो ।

‘लोहा लोहेको काटता है’ भन्ने भारतीय उखानलाई राम्रोसँग बुझेका भारतीयहरुलाई पश्चिमा शक्तिले प्रयोग गर्नुको परिणाम हो, नेपालको माओवादी ध्वंश दिन दुई गुणा रात चार गुणा वृद्धि हुनु । जनतामा भनिने लोकप्रिय नाराको स्रोत पञ्चायतको बेथिति र गिरिजाको दमन छँदै थिए । एमालेको सामान्य लोकप्रिय कार्यक्रमसमेत देख्न नसक्ने पुँजीवादी मिडियाले तिनै माओवादीको ध्वंशलाई प्रचार गरिदिने मिशन पत्रकारिताले माओवादी प्रचार गर्नुको मतलब एमालेलाई कमजोर बनाउने रणनीति हो भन्ने सबैले बुझ्ने कुरै भएन ।

अदालतको कपटपूर्ण फैसला मार्फत सडक पुर्याइएको एमाले धुलो टकटकाएर जनतामा जानुको साटो सुरा सुन्दरी बोकेर शंकर होटलसम्म पुग्ने क्रियाकलापले अन्तत बाघले मानिसको रगतको स्वाद पायो भने मासु हैन रगत पिउछ भने जस्तो भयो, एमालेको निम्ती सरकारमा पुग्ने सोंचाइ । जसको कारण नेपालमा स्वार्थी जमातहरु नेताहरुको बेडरुमसम्म पुग्न सफल भए । देश र जनताको नारा अब केवल देखावटी बन्दै जान थाल्यो । सरकारको लाभका पदको स्वादमा रम्दै जानुले पार्टीमा नातावाद, कृपावाद, व्यक्तिवाद, गुटबन्दी, अवसरवादको जन्म पुँजीवादी योजना अनुसार फस्टाउँदै गयो । उता पुष्पकमल र बाबुरामलाई प्रयोग गर्दै माओवादी पार्टीमा भित्र भित्रै इसाइकरण गरियो । बाबुरामलाई चाहिएको संगठन र पुष्पकमललाई चाहिएको बौद्धिक छविको आन्तरिक शक्ति सन्तुलनमा पश्चिमाहरुले भारतीयलाई प्रयोग गर्दै पुरा गर्न चाहेका एक मात्र लक्ष्य भनेको नेपालको वामपन्थी आन्दोलनको समुल नष्ट हो भन्ने नबुझ्ने आलाकाँचा युवाहरु देशको संरचना ध्वंश बनाउन आतुर भइहाले ।

गरिब, अशिक्षित र अल्पविकसित मुलुकमा धनी, शिक्षित र विकसित मुलुकले समेत नधान्ने मुद्दा जाती, क्षेत्रवाद, लिङ्ग, भाषा, धर्मलाई प्रयोग गर्नु बाबुराम र पुष्पकमलले नबुझ्ने कुरै भएन । पुष्पकमल र बाबुरामको उद्देश्य केवल सोझा जनताका छोरा – छोरीलाई प्रयोग गर्दै भारतीय आर्शिवाद मार्फत वामपन्थीलाई कमजोर पार्दै वामपन्थी कै नाममा सत्तामा पुग्नु थियो । जसको कारण दिल्लीको आतिथ्यमा आफ्नो भविष्य निर्माण गर्नै नेपालका स्थायी संरचना, संस्था, परम्परा, संस्कृति र धर्मलाई तिलाञ्जली दिन राजी हुनु किमार्थ गलत थिएन । पुष्पकमल चलाख थिए तर बुद्धिमान थिएनन् ।

बाबुराम बुद्धिमान थिए तर चलाख थिएनन् । बाबुरामले पुष्पकमललाई नचिन्दा झण्डै झण्डै आफ्नो भौतिक शरीरको बलि दिन बाध्य हुँदै थिए । एस डि मुनीका चेला बाबुराम नेपाल कम्युनिस्ट आन्दोलनमा रुसी नेता बोरिस यल्तसीनको भूमिकामा थिए । उचित समयमा भारतीयले हस्तक्षेप नगरेको भए आज उनी यो दुनियामा सायदै हुन्थे कि ? यसको जवाफ नेपाली यल्तसीन बाबुरामले कुनै न कुनै दिन आत्मकथा मार्फत दिनेछन् ।

भारतीयको हस्तक्षेपलाई समयमै संबोधन गर्दै बाबुरामलाई माओवादी श्रम शिविरबाट भारत पठाउने पुष्पकमल दूरदृष्टीले उनी चलाख थिए भन्ने पुष्टी गर्छ । बाबुराम नेपाली यल्तसीन भैसकेका छन् । मलाई भोली अप्ठ्यारोमा पार्छन भन्ने कुरामा चुक्नुले पुष्पकमल बुद्धिमान होइनन भन्ने प्रमाणित हुन्छ । पुष्पकमलको अर्को चलाखी यल्तसीन भूमिकाका बाबुरामलाई असफल बनाउन आफैं गोर्भाचोभको भूमिकामा बदलिनु हो भन्छन्, नेपालका वाम विश्लेषकहरु । पुष्पकमलले चलाखी गर्दै बाबुराम यल्तसीनलाई पार्टीबाट बिदा गरे । दोस्रो पटक प्रधानमन्त्री हुन सफल भए तर बुद्धिमान हुन सकेनन । पुष्पकमललाई गोर्भाचोभ बनाउनेहरु चलाख पनि छन् । बुद्धिमान पनि छन् भन्नु पर्ने नेपाली राजनीतिले नेपाल र नेपालीलाई रसातालको यात्रामा धकेल्दैछ भन्ने आधार झन–झन खुल्दैछन् ।

जब बाबुराम यल्तसीनको भूमिकामा प्रधानमन्त्री बन्न सफल भए तब उनीद्वारा नै माओवादी क्यानटोनमेण्टमा सेना परिचालन गरे । उनीहरु नेपालमा वामपन्थी सत्ता स्थापना गर्नको लागि हैन, पश्चिमा शक्ति र भारतको सेवा गर्नको लागि प्रयोग भएका थिए । नेपालको वामपन्थी आन्दोलनलाई सोभियत स्टाइलमा पतन गराउने रणनीतिका मोहरा बाबुराम हुन भन्ने कुरा उनको नयाँ शक्ति नामको राजनैतिक दर्शनले प्रमाणित गरिसकेको छ । अर्कोतर्फ शक्तिखोरको शिविरमा हामी ‘भाले’ भएपछि भन्ने पुष्पकमल नामका नेपाली गोर्भाचोभले आफ्नै पूर्वलडाकुलाई पेरिसडाँडामा एका विहानै पुलिस लगातार पक्डाउनुले उनको ‘पोथीपन’ देखिइसकेको छ ।

जब–जब नेपालका वामपन्थी नेताहरु जनताको हितमा लागे जनताका अपार माया  सर्मथन पाए । अन्याय, अत्याचार, लोकतन्त्र र जनजीविका र राष्ट्रवादका सवालमा जनतासँग एकाकार हुँदा नेपाली वामपन्थी आन्दोलनले थ्रुपै होनहार योद्धा जन्मायो । कुनै विकासे काम नगर्दा पनि जनताले सधै सम्मानित नजरले हेरी राखे । नेपाली जनताको आशा र भरोसाले वामपन्थी आन्दोलनलाई सधैं माया गरि राख्यो । श्रमजीवी जनता, मजदुर, गरिबी किसान पीछडिएको वर्ग, क्षेत्र, लिङ्गले सधैं आशाको नजरले खोजी रह्यो । जसको फलस्वरुप दुनियाँ भरका शक्ति नेपाली वामपन्थी आन्दोलनलाई निर्मुल पार्न लाग्दा पनि आफैं असफल भएका छन् ।

पुँजीवादी शक्ति पश्चिमाको रणनीतिक चालले नेपालको वामपन्थी आन्दोलन बाहिरी रुपमा सग्लै देखिए पनि भित्रभित्रै सेटिङ गरिएका नेपाली गोर्भाचोभ र यल्तसीनको कारणले धेरै कमजोर भइसकेको छ । फुटवाद र गुटबादले हुर्काएको नेपाली कम्युनिस्ट आन्दोलनको अन्त कतै खोज्नै पर्दैन । खुद यल्तसीन बनेका बाबुराम अनी गोर्भाचोभको भूमिकामा पुष्पकमल हुनुले ठूलो नोक्सानी बेहोर्ने अवस्था सिर्जना भइसकेको छ । संख्यामा बृद्धि भएको गुणमा रित्तिएको नेपाली बामपन्थी आन्दोलनको प्रमुख दुश्मन गोर्भाचोभ भूमिकाको पुष्पकमल हुन । समयमै उनको नकारात्मक कामको भण्डाफोर गर्न असफल हुनु भनेको माओवादी केन्द्रको नियती रुसी कम्युनिस्ट पार्टीको जस्तै हुनु हो ।

प्रधानमन्त्री पुष्पकमल नेपाली गोर्भाचोभको अवतार बन्दै निस्कदा उनीहरुबाट भएका, हुँदै गरेका र हुने सम्भावना भएका राष्ट्रघात, पार्टीघात, जनघात र वामपन्थीघात लगायत सारा कर्तुतलाई बेलैमा रोक्नु आजको ठूलो कार्यभार भईसकेको छ । अन्यथा बाबुरामबाट बाँकी राखिएका पश्चिमा र भारतीय एजेण्डालाई संविधानमा समावेश (समाहित) गराउने कार्य मार्फत नेपालको वामपन्थी आन्दोलन र राष्ट्रवादको तिलाञ्जली दिँदै राष्ट्र विघटनको आधार तयार गर्नेछन् । सोभियत कालिन गोर्भाचोभले विश्व पुँजीवादी सञ्चारलाई कम्युनिस्ट समाप्त भएको मसला दिन सफल भए झैं नेपाली गोर्भाचोभले गर्न सक्ने हर्कतहरुलाई असफल गराउने जिम्मा लेनिन विष्ट जस्ता नेपाली वामपन्थी युवाको काँधमा आएको छ । बेलैमा सचेत बनौं र वामपन्थ जोगाऔं ।

9805 पटक पढीएको
प्रतिकृया दिनुहोस