किन बद्नाम बन्यो सुजाताको रोग ?
बिहिबार, मंसिर २, २०७३

०२६/२७ सालतिरको कुरा हो । राजा महेन्द्र कञ्चनपुर मुकाम गरेर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कनुभयो । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको गोलीको निशाना चुकेर भूलवश रानी रत्नलाई लाग्न पुग्यो । सवारीमा संलग्न सबैलाई ठूलो आपत् आइलाग्यो । अब के गर्ने ? उपचारका लागि कहाँ लाने ? काठमाडौंभन्दा दिल्ली पुग्न नजिक हुने हुँदा बडामहारानीलाई दिल्ली नै लानुपर्ने सुझाव सबैले राजालाई दिए । तर, सुझाव दिनेलाई राजा महेन्द्रले प्रश्न गर्नुभयो, ‘किन हाम्रा डाक्टरहरू यस्तो उपचार गर्न सक्दैनन् र ? अस्पतालहरूमा यति उपचार गर्ने सुविधा छैन र ?’ राजाको यस्तो प्रश्नपछि सबैले शिर झुकाएर काठमाडौंमा उपचार गर्न सकिन्छ सरकार, तर रातको समय छ, हेलिकोप्टर उडाउन र ल्यान्ड गर्न गाह्रो हुन्छ भन्ने जवाफ दिए । आपत्कालीन अवस्थामा सेनाका हेलिकोप्टरहरू कसरी उड्छन् त ? भनेर बुझ्दा मसाल बालेर उडाउने र बसाउने व्यवस्था गरिने रहेछ । त्यतिबेला पनि त्यही गरियो । रातको समयमा मसाल बालेर हेलिकोप्टरमा राखी बडामहारानी रत्नलाई काठमाडांै ल्याएर उपचार गरियो । डा. अञ्जनीकुमार शर्मा, डा. मोहिन शाह, डा. सच्चेकुमार पहारीलगायतले रानीको उपचार गरे । डा.अञ्जनीकुमार शर्माले केही वर्षअघि यस विषयमा लामै लेख लेख्नुभएको थियो ।

राजा महेन्द्रले आफ्नै देशमा उपचार हुन्छ भने अरू मुलुकमा किन लानु ? भन्नुभित्र दुईवटा अर्थ लुकेको थियो भन्न सकिन्छ । एउटा आफ्नो देशको स्वास्थ सेवा र डाक्टरहरूको विज्ञताबारे जानकारी लिनु र अर्को मुलुकका अस्पताल एवम् डाक्टरहरूप्रति जनताको विश्वास जगाउनु । तर, अहिले हाम्रा नेताहरू छिसिक्क केही भयो कि उपचारका लागि विदेश दौडने प्रचलन नै बनेको छ । अहिले नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइराला यही प्रवृत्तिका कारण आलोचित बन्नुभएको छ । उहाँलाई स्तनक्यान्सर भएको र त्यसको उपचारका लागि विदेश जान भनी सरकारले राज्यको ढुकुटीबाट पचास लाख रुपैयाँ दिने निर्णय गरेको कुरा सार्वजनिक भएपछि सर्वसाधारणमा आक्रोश पैदा भएको छ । यो देशका नेताहरू उपचारका लागि विदेश जाने कुरा नयाँ होइन न त राज्यको ढुकुटीबाट कुनै नेताको उपचारका निम्ति दिइएको सहयोग नै पहिलोपटक हो । तैपनि अरू नेताभन्दा सुजाता कोइरालाको किन बढी आलोचना भयो ? क्यान्सरजस्तो रोग लाग्दा पनि मानिस किन कठै भनेर चुकचुकाएनन् र कुनै प्रकारको सहानुभूति राखेनन् ? यो प्रश्नको जवाफ शायद अब नेताहरूले नीति र व्यवहार दुवैमा खोज्नुपर्छ ।

यो मुलुकमा अहिलेसम्म सरकारी ढुकुटीबाट उपचार खर्च लिने नेताहरूको नामावली हेर्ने हो भने पढ्न निकैबेर लाग्छ । सम्पन्नताको हिसाबले हेर्ने हो भने पनि पूर्वअर्थमन्त्रीलगायतका निकै सम्पन्न नेताहरूले पनि सरकारी ढुकुटीबाट सहयोग लिएका छन् । हुन त, इमानदारीपूर्वक काम गर्ने हो भने अर्थमन्त्री हँुदैमा पैसा कमाइन्छ भन्ने होइन, तर हामीकहाँ गृह, अर्थलगायतका मन्त्रालयमा एकपटक पुगेपछि नेताहरूको सम्पत्ति कतिसम्म होला भन्ने कुरा अन्दाज नै गर्न नसकिने गरी जम्मा हुने गरेको छ । आयकै कारण यस्ता कतिपय मन्त्रालयमा नेताहरूको हानाथाप हुने गरेको छ । विज्ञान तथा प्रविधि, महिलाजस्ता मन्त्रालयहरूमा सकेसम्म कोही जान चाहँदैनन्, जो गएका छन् ती कम प्राथमिकतामा परेर पुगेका हुन् भन्ने अनेक आधारहरू छन् । जहाँसम्म नेतृ सुजाता कोइरालाको सवाल छ, उहाँको आलोचना पूर्वपरराष्ट्रमन्त्री भएकाले भएको होइन, गिरिजाप्रसाद कोइरालाकी छोरी या रुवेल चौधरीकी सासू भएका कारणले भएको पनि होइन । उहाँको यति धेरै आलोचना हुनुको प्रमुख कारण रोगभन्दा पहिला पैसाले चर्चा पाउनु हो । उहाँको रोगसँगै पैसा यसरी जोडिएर आयो कि कसैले कठै भन्ने मौका नै पाएनन् । ‘नेतृ सुजाता कोइरालालाई क्यान्सर’ भन्ने मात्रै समाचार बाहिर आएको भए मानिसलाई त्यो अप्रत्यासित समाचार हुने थियो जसरी डा. शशांकको स्वास्थ अवस्थाबारे केही समयअघि समाचार आएको थियो ।

राजनीतिकर्मीजति सबैलाई स्वास्थ्योपचार खर्च राज्यले गर्ने हो भने यो मुलुकमा ६ सय त सांसद नै छन् । सङ्घीयतामा गएपछि विभिन्न ओहोदामा बसेका राजनीतिकर्मीहरूको सङ्ख्या झनै बढ्नेछ । राज्यको बजेट उपचारका निम्ति मात्रै खर्च गर्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यसैले रोग नै बद्नाम हुने गरी सर्वसाधारणले तिरेको करलाई दुरुपयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह छ ।

डा. शशांक र सुजाता एउटै परिवारका सदस्य हुन् । दुवैजनाको राजनीतिक करिअर आफ्ना पुस्तासँग जोडिएको छ । दुवैजना पहिला अरू नै क्षेत्रमा संलग्न भएर पछि राजनीतिमा आएका हुन् । सुजाता यो मुलुकको उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेकी व्यक्तित्व, शशांक पार्टीका महामन्त्री । उस्तै पृष्ठभूमिका शशांक बिरामी हुँदा उनीप्रति कुनै सरोकार नभएकाहरूले पनि ‘हे भगवान् शशांकलाई बचाइदेऊ’ भनेर प्रार्थना गर्ने अनि सुजातालाई भने सर्वसाधारणलगायत उनलाई चिन्ने, जान्ने र उनका वरिपरिकै भन्ने ठानिएकाहरूले पनि सत्तोसराप गर्ने अवस्था किन आयो ? किनभने उनको स्वास्थ्यबारे जानकारी र सहयोग रकमको कुरा एकैपल्ट बाहिर ल्याइयो । यदि उनले उपचार सुरु गरेर धान्ने नसक्ने अवस्थामा सरकारसँग सहयोग मागेको भए कसैले वास्ता पनि गर्ने थिएनन् जसरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई सरकारले सहयोग गर्दा मतलब गरिएन । रोगभन्दा पहिला पैसा तेस्र्याउँदा स्तनक्यान्सरजस्तो घातक रोग मानिसहरूका लागि व्यङ्ग्य बन्न पुग्यो । कतिले त शारीरिक रूपले सम्बन्धित अङ्गबारे धेरै तल झरेर टिप्पणी गरेकोसमेत देखियो । जुन प्रवृत्ति गलत हो । रोग भन्ने कुरा कसलाई कहाँ कति बेला लाग्छ भन्नै सकिन्न ।

सुजाताले के गरिन् या के गर्नुपथ्र्यो भन्ने कुराभन्दा पनि यो मुलुकमा कुन अवस्थामा कसलाई राज्यको ढुकुटीबाट सहयोग दिन मिल्ने हो निश्चित सर्त बनाउनु आवश्यक छ । मुलुकमा यतिका अस्पतालहरू, कोभन्दा को कम डाक्टरहरू हुँदाहुँदै नेताहरूलाई उपचारमा विदेश नै जानुपर्ने किन ? यदि यहाँ उपचार नै गर्न नसकिने भनी डाक्टरले सिफारिस गरेमा बाहिर नजाने भन्ने कुरै आउँदैन । नेताहरूचाहिँ रोग लाग्नासाथ बाहिर जाँदा यहाँको स्वास्थ्य सेवाप्रति जनताचाहिँ कसरी विश्वस्त हुने त ? हाम्रा कतिपय डाक्टरहरू दिल्ली, बंगलादेश, सिंगापुरलगायतका अस्पतालमा उपचार गर्न जान्छन् । यता हाम्रा नेताहरूचाहिँ राज्यको ढिकुटी खर्च गरी–गरी ती मुलुकमा उपचारका निम्ति जाँदा जाने सन्देश के हो भनेर पनि सोच्नु जरुरी हुन्छ । यो मुलुकमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरू धेरै छन्, तर राजनीतिकर्मीलाई मात्रै राज्यले सहयोग गर्नुपर्ने कारण पनि सर्वसाधारणले बुझ्न सकेका छैनन् । राजनीतिकर्मीजति सबैलाई स्वास्थ्योपचार खर्च राज्यले गर्ने हो भने यो मुलुकमा ६ सय त सांसद नै छन् । सङ्घीयतामा गएपछि विभिन्न ओहोदामा बसेका राजनीतिकर्मीहरूको सङ्ख्या झनै बढ्नेछ । राज्यको बजेट उपचारका निम्ति मात्रै खर्च गर्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यसैले रोग नै बद्नाम हुने गरी सर्वसाधारणले तिरेको करलाई दुरुपयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह छ । सामान्यतया नेपाली समाज दुःखमा चुकचुकाउने नै समाज हो । राजनीतिकर्मीको व्यवहारका कारण यसलाई कठोर नबनाइयोस् ।

घटना र बिचार साप्ताहिकबाट साभार

1481 पटक पढीएको
प्रतिकृया दिनुहोस