ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम
शनिबार, मंसिर ११, २०७३

चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् । जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताइन ।

आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझैपनि अनविज्ञ छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधैं खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउँछन् । विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताए ।

मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगर भनिन, “ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एका दुईले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।” खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताइन । गोठादीकी मीना चिदिले प्याकेटको तुलनामा खुल्लाको मूल्य कम भएकाले खुल्ला नुन नै प्रयोग गर्दै आइरहेको बताए ।

आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो ।

सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घर÷घरमा रेडियोको पहुँच पुगेकै छ ।

मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताए ।

93 पटक पढीएको
प्रतिकृया दिनुहोस