विपद् व्यवस्थापनका लागि सचेत बन्दै विद्यालय
शनिबार, मंसिर ११, २०७३

भूकम्प तथा अन्य विपद्का समयमा कसरी बच्न र बचाँउन सकिन्छ भन्ने विषयमा पर्वतका शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुन थालेका हुन । जिल्लाका दश विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रुपमा यस्तो विपद्का समयमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा योजना बनाएका छन् । ती विद्यालयले भूकम्प प्रतिरोधी भवन समेत बनाउने अभियान सुरु गरेका छन् ।

ती विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकल आफ्नो विद्यालयमा मात्रै होइनन्, छिमेकी विद्यालय र समुदायमा समेत यसबारे सचेतीकरण अभियान थालेका छन् । यसका लागि उनीहरुले भूकम्प प्रतिरोधी संरचना, भूकम्पपछि खोज तथा उद्दार, प्राथमिक उपचार, प्रकोप मापन, आपतकालीन अवस्थामा कसरी भाग्ने जस्ता विषयमा विभिन्न तालिम र प्रशिक्षण समेत लिएका छन् । आपतकालीन अवस्थाका लागि उनीहरुले भूकम्प प्रतिरोधी सामग्रीको समेत जोहो गरेका छन् ।

‘विपद् न्यूनीकरणका लागि शिक्षक तथा अभिभावक सचेत भएका छन्,’ नवजागृत माविका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले भने ‘विद्यालयमा जोखिम न्यूनीकरण सम्बन्धी योजना बनाएर अगाडि बढेका छौं ।
‘हामीले विद्यालयमा मात्रै होइन समुदायसम्म पनि सुरक्षाको खोजी गर्न थालेका छौ’ उनले भने– “विद्यालयले जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन समिति समेत बनाएका छन् ।

पर्वतको पशुपति मावि राम्जा, नवजागृत मावि तिलहार, तुलोदय मावि तिलहार, त्रिभुवन मावि शङ्करपोखरी, राम मावि, र जनसहयोगी मावि शङ्करपोखरी, नेपाल तारा मावि रानीपानी, जनता प्रावि रानीपानी र आम्बारी मावि बर्राचौरलगायतका १० विद्यालयमा एक वर्षको अवधिमा विद्यालयका संरचना विपद्बाट बच्नका लागि अनुकूल हुने गरी बनाइएका छन् ।

यी विद्यालयको सिकाइलाई स्रोत केन्द्र र जिल्लाका सबै विद्यालयमा लैजान आवश्यक भएको नेपाल तारामावि स्रोत केन्द्रका स्रोत व्यक्ति बमबहादुर क्षेत्रीले भने । “स्रोत केन्द्रभित्रका विद्यालयमा सुधार योजनामा विपद् न्यूनीकरणको योजना समावेश गर्ने तथा अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीका बीचमा समेत विपद् न्यूनीकरण सचेतना अभियान लैजाने योजना रहेको उनले भने ।” जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले पर्वतमा यस वर्ष निर्माण भएका ९० वटा विद्यालयका संरचना पूर्णरुपमा भूकम्प प्रतिरोधी रहेको बताए ।

272 पटक पढीएको
प्रतिकृया दिनुहोस