रुकुममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
धनवीर दाहाल
शनिबार, मंसिर ११, २०७३

जिल्ला अस्पत्ताल सल्ले, रुकुममा शनिबारबाट स्वास्थ्य परिक्षण तथा शल्यक्रिया जाँचका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुष्मा कोईराला मेमोरियल अस्पत्ताल साँखु, काठमाडौंको प्राविधिक सहयोगमा ४ दिन सम्म संचालन हुने स्वास्थ्य शिविरमा विभिन्न शारीरिक समस्या भएका व्यक्तिहरुको स्वास्थ्य जाँच गरिने भएको छ । जर्मन तथा नेपाली चिकित्सकद्वारा स्वास्थ्य जाँच तथा शल्यक्रिया गरिने उक्त शिविरमा रुकुम जिल्लाका अति विपन्न गरिब घरधुरी समुदायका व्यक्तिहरु लाभान्वित हुने बतार्ईएको छ । शिविरमा आगोले पोलेर शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नसक्ने, खुट्टाको पैतला भित्रतिर फर्किएको र जन्मजात ओठ तथा तालु फाटेकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरिने भएको छ ।

त्यस्तै विस्फोटनमा परी शरिरको भागमा देखिएको समस्याको शल्यक्रिया, शरिरमा देखिएका विभिन्न गाँठा गुठी, सिस्ट, मुसा तथा अन्य दागहरु लगायतका विभिन्न शारीरिक समस्या भएका व्यक्तिहरुको शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण तथा शल्यक्रिया गरिने भएको छ । सुष्मा कोईराला मेमोरियल अस्पत्ताल काठमाडौंको सामुहिक नेतृत्व गरी रुकुम आउनुभएका डा। जसवन्त शाक्यले ४ दिन सम्मको शिविर अवधिमा स्वास्थ्य जाँच गराउन आउनेको समस्यालाई सकेसम्म रुकुममै समाधान गर्नेगरी उपचार गर्ने बताएका छन् । यदि स्वास्थ्य जाँचमा देखिएका जटिल समस्याहरुको उपचार रुकुममै गराउन नसकिने अवस्था भएको खण्डमा काठमाडौंबाट थप चिकित्सक बोलाउने डा शाक्यले बताए ।

उनका अनुसार शिवरमा स्वास्थ्य परीक्षण गर्न आउने मध्ये अति गरिव एवम् आर्थिक अवस्था कमजोर भएकाहरुलाई कुनैपनि खर्च नलाग्ने तर आर्थिक अवस्था केही राम्रो भएकाहरुलाई भने उपचारमा शतप्रतिशत छुट गरिने बताए । शिविरमा रुकुम जिल्ला लगायत अन्य जिल्लाका व्यक्तिहरुले पनि स्वास्थ्य परिक्षण गर्न सकिने जनाईएको छ । जिल्ला अस्पत्ताल सल्ले रुकुमको समन्वय तथा रुकुमेली समाज विकास केन्द्र रुकुमको आयोजनामा संचालन गरिएको स्वास्थ्य शिविरको शनिबार एक औपचारिक कार्यक्रमका बिच उदघाट्न गरिएसंगै पहिलो दिनमै स्वास्थ्य जाँच सुरु गरिएको छ ।

सुरुको दिनमा समेत शिविरमा स्वास्थ्य जाँच गराउन आउने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको छ । गत वर्षको वैशाषमा पनि सुष्मा कोईराला मेमोरियल अस्पत्तालको प्राविधिक सहयोगमा रुकुममा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । तर भुकम्पका कारण दुई दिन मात्रै संचालन गरिएको उक्त शिविर स्थगित गर्नुपरेकाले पुनः आम रुकुमेली जनताको माग बमोजिम नै यसपटक रुकुममा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताईएको छ ।

70 पटक पढीएको
प्रतिकृया दिनुहोस